मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

मुगु | भदौ २५, २०८०

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत फाइल तस्बिर

काठमाडौं:  कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्‍याएको हो । 

 

प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ  । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ ।

 

अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समय बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताउनुभयो । अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् ।

 

गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति दिएको थियो ।  भारी वर्षासँगै आएको बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो । यसैगरी, बाढीपहिरोबाट  विद्युतगृहको सबस्टेसनका संरचनाहरूमा पनि क्षति पुगेको थियो ।

 

मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३र११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्